प्रचण्ड–नेपाल समूहको आम हड्तालः ६ बजेपछि मात्रै फिर्ता हुने , काठमाडौंमा आन्दोलनको प्रभाव कम
काठमाडौं , माघ २२ । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता मात्रै हुने भएको छ ।संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।
साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यता बिहीबार गरेको आमहड्तालको प्रभाव कम हुँदै गएको छ । बिहीबार बिहान केहीबेर सडक सुनसान झैँ देखिए पनि दिउँसो सवारी चल्न थालिसकेका छन् ।
सडकमा कार्यकर्ताको उपस्थिति कम देखिएको छ । काठमाडौंका बौद्ध, जोरपाटी, चाबहिल, गौशाला, जमल, लैनचौर, सामाखुसी, बालाजु, बाफल क्षेत्रमा सार्वजनिक बस चलिरहेका छन् ।
नयाँ बसपार्कबाट यात्री बोकेर सवारी–साधन चाबहिल, बौद्ध, जोरपाटी पुगेका छन् । चाबहिल, बौद्ध क्षेत्रमा फाट्टफुट्ट पसल पनि खुल्न थालेका छन् । फुटपाथमा पनि व्यापार गरिरहेको देखिन्छ ।
भित्री सडकमा साना तथा किराना पसल प्रायः सबै खुलेका छन् । कलंकी, नयाँ बसपार्कदेखि गौशाला, चाबहिल, जोरपाटीको सडकमा हड्तालको अवरोध देखिएको छैन । यस्तै आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा,विजय पौडेल लगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्