रहरले होइन , ओलीको अधिनायकवादी कदमका कारण आमहड्ताल गर्न बाध्य भयौं : नेपाल
काठमाडौं, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को अधिनायकवादी कदमका कारण आफूहरु आन्दोलनमा उत्रिन वाध्य हुनुपरेको बताएका छन् ।
ओलीले संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताले ठूलो बलिदानीका साथ प्राप्त गरेको उपलब्धीहरुमाथि लगातार प्रहार गरेका कारण संविधान रक्षाका लागि पनि आमहड्ताल जस्तो कठोर आन्दोलनमा उत्रिन आफूहरु वाध्य भएको बताए ।
अध्यक्ष नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबरजस्ती शपथ गराइएको बताएका छन् । आमहड्ताल सफल पार्न बिहीबार सडकमा निस्किएका नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताएका छन् ।
‘अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओली संविधान मिच्दै मिच्दै अघि बढ्नु भएको छ । एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको छ’, उनले भने । नेपालले संवैधानिक आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे ।
ओली सुध्रिने व्यक्ति नरहेको बताउँदै उनमा गणतन्त्र, संघीयता, समावेशितामा अपनत्व बोधको भावना नरहेको नेपालको भनाइ थियो ।















प्रतिक्रिया दिनुहोस्