फागुन पहिलो साताबाट संयुक्त आन्दोलन चर्किन्छ : प्रचण्ड

काठमाडौं, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको यो समुहले देशभर आमहड्ताल गरिरहेको छ ।

 

यसैक्रममा प्रचण्डले अब फागुनदेखि संयुक्त आन्दोलन चर्काउने बताएका छन् । उनले भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातीलाई बढार्छ ।’

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा सातदोबाटो चोकमा पुगेर कार्यकर्तालाई संयमित रुपमा आमहड्ताल सफल बनाउन अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् ।

 

सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको जानकारी दिएका छन् । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे आम नागरिकलाई सुसूचित गराउनका लागि पनि सडक आन्दोलन गर्नुपरेको बताएका छन् ।

संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्