गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड, उपत्यकामा ७७ बढी नेता-कार्यकर्ता पक्राउ
काठमाडौँ, माघ २२ । प्रहरीले काठमाडौं उपत्यकामा आज नेकपाले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्किएका नेता–कार्यकर्तामाथिको धरपकड तीब्र बनाएको छ ।
प्रहरीले काठमाडौं उपत्यकाका सडकमा बन्द गराउन निस्केका नेकपा प्रचण्ड–नेपाल पक्षका ७७ जना भन्दा बढी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ । नेकपाको प्रचण्ड(नेपाल समूह्ले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् ।
राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन् । प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ ।
यस्तै सोही क्षेत्रमा ना १ ज ८८५९ नम्बरको सुमोमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
ट्याक्सीमा आगजनी र सुमोमा तोडफोड भएको क्षेत्र आसपासमा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सरकारले अवैधानिक तवरले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेकपाको दाहाल(नेपाल समूहले आज आमहड्ताल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्