प्रचण्ड-नेपाल पक्षको आज देशव्यापी आमहड्ताल, दर्जनौं पक्राउ
काठमाडौं , माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले संवैधानिक निकायमा सरकारले बुधवार गरेको नियुक्तिको विरोधमा आज देशव्यापी आमहड्ताल गरेको छ ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको नियुक्ति गरेपाची नेकपाको प्रचण्ड–नेपाल पक्षले आमहड्तालको कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेकी थिइन् । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रूपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले आकस्मिक रूपमा देशव्यापी आम हड्तालमा लागेको हो ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरूमा गरिएको नियुक्ति बल मिच्याइँ र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताएका थिए ।
बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधन र परिक्षा सञ्चालनमा कुनै अवरोध नहुने जनाइएको छ । यता प्रचण्ड(नेपाल पक्षका कार्यकर्ता आमहड्ताल गराउदै हिड्न थालेपछि प्रहरीले पक्राउ गर्न शुरु गरेको छ ।
प्रहरीले उपत्यकाका विभिन्न ठाउबाट कार्यकर्ता पक्राउ गरेको छ । अहिलेसम्म प्रहरीले ६ दर्जनभन्दा बढी पक्राउ गरिसकेको छ । प्रहरीले शान्ति सुरक्षमा खलल पुर्याउने र तोडफोड गर्दै हिड्नेलाई पक्राउ गर्ने चेतवानी दिएको छ ।
प्रदर्शनकारीले काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् । गोंगबुमा प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।
त्यस्तै प्रहरीले प्रचण्ड(नेपाल पक्षकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट पक्राउ गरेको छ । सरकारले निर्बाधरुपमा सवारी साधन संचालन गर्न निर्देशन दिएपनि आज सडकमा सवारी साधन भने कम नै चलेका छन् ।
प्रतिक्रिया दिनुहोस्