प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित, यस कारणले भयो

काठमाडौं, माघ २० । संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थिगित भएको हो । बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक बोलाएका थिए । बैठक अब अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ।

यसअघि बसेको परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। ती मध्ये केहीले पद अस्वीकार गरेका थिए। अस्वीकार गरेका पदमा पुन नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ।

बैठक बस्ने सूचना प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पत्रमार्फत दिइएको थियो। तर सभामुख सापकोटा भने बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको थियो।

यसअघि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस पनि सभामुख अग्नी सापकोटाले फिर्ता गरेका थिए । आइतवार सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले गरेको सिफारिसको पत्र फिर्ता गरिदिएका थिए ।

परिषद्ले गत मंसिर ३० गते अध्यादेश मार्फत मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो ।संसद विघटन भएका बेला कुनैपनि संवैधानिक नियुक्तीहरु नहुने भन्दै सभामुख सापकोटाले सिफारिस फिर्ता गरिदिएका हुन् । बैठक कति कारणले स्थिगित भयो भन्ने बारे केहि खुलाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्