सरकारले माघ १९ देखि एक महिनालाई ‘ आयोडिन मन्थ’को रुपमा मनाउने

काठमाडौं, माघ १८ । सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’को रुपमा देशभर मनाउने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै आगामी अंग्रेजी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने घोषणा गरेको हो ।

आयोडिनयूूक्त नूनको प्रर्वद्धन तथा यस सम्वन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीवाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप २०७७ माघ १९ गते (तदअनुसार )१ फेब्रुअरी २०२१ देखि १ महिनाभरी सरकारले ‘आयोडिन मन्थ’का रुपमा मनाउने भएको हो ।
यसअनुसार भोलिदेखिको एक महिना ‘आयोडिन महिना’ हुनेछ। युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई)को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको छ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरुमध्ये ‘भिजिवल गोइटर’ सन १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन।
नेपाल सरकारले दिएको निर्देशनअनुसार यस कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहस्राब्दी विकास लक्ष्यअनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन २०१६ को नेपाल सरकारले गरेको सर्बेक्षणअनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ।

सन् २०१६ मा नेपाल सरकारले गरेको सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ।

यस वर्ष नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ संस्था स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गर्ने जानाकारी गराएको छ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, बिद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने कर्पोरेशनले जानाकारी गराएको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ग्रामीणस्तर सम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालवालिका चिन्ह अंकित पाकेट नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

यस आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट, पम्पलेट, तथा फेस मास्क जस्ता सामग्री बितरण गर्ने छ । यसका लागि विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने कर्पोरशनले जानाकारी दिएको छ । उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको छ।

सोमबारदेखि एक महिनासम्म चल्ने उक्त कार्यक्रममा कर्पोरेसनले नेपाल सरकारले जनस्वास्थ्यसम्बन्धी सबै निकाय, स्थानीय तह, विद्यालय, गैरसरकारी संस्था, नागरिक समाज लगायतसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

कर्पोरेसनले ग्रामीण क्षेत्रसम्म दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुनको वितरण गर्दै आएको छ ।  सरकारले विगत ५७ वर्षदेखि साल्ट ट्रेडिङलाई देशभर आयोडिनयुक्त नुन वितरणको जिम्मेवारी दिदै आएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्