‘श्री ५ को सरकार’ भनेका खानेपानी मन्त्रीले मागे माफी , भने – भुलवास शब्द प्रयोग भयो

काठमाडौँ , माघ १८ । खानेपानी मन्त्री मणि थापाले शनिबार सुर्खेतमा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा श्री ५ को सरकारु भनेकोमा माफी मागेका छन् ।

मन्त्री थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई आफुले तत्कालै सच्याएको बताउदै भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा मागेका छन् ।

शनिबार सम्बोधनको क्रममा मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनेपछि सो भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

उनले आफ्नो सचिवालय मार्फत भनेका छन् – शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।

मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।

मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् ।

मन्त्री थापाले स्पष्टीकरण दिँदै सामाजिक सञ्जाल मार्फत माफि मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्