नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल
काठमाडौं, माघ १८ । सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ । सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ ।
नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको माघको पहिलो साता भएको भारतको भ्रमणको क्रममा नयाँ हवाई रुटका विषयमा छलफल भएको थियो ।
भारतीय समकक्षीसँग भएको भेटवार्ताको क्रममा नेपालले प्राथमिकताका साथ नयाँ हवाई रुटको एजेन्डाका विषयमा छलफल गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
‘दुईपक्षीय वार्ताको क्रममा यो विषय पनि उठेको हो । यो हाम्रो पुरानै एजेन्डा हो । पछिल्लो छलफल सहमतिका लागि वातावरण सहज बनाउने काम भने गर्नेछ’, महानिर्देशक पोखरेलले भने । उनका अनुसार प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ ।
तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्