संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत छ हामीसँग, अदालतमा मुद्दा भएर मात्रै चुप बसेका हौँ : प्रचण्ड

काठमाडौँ, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने दाबी गरेका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने बताएका हुन । विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको बताउँदै उनले संसद बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागद आफूहरुसँग भएको उनले जिकिर गरे ।

मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताए ।

नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताउँदै उनले संसद् विघटन नभएको तर्क गरे ।

संसद विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको हुँदा न्यायालयले उचित फैसला गर्नेमा आफू ढुक्क रहेको बताए । उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए।

प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधिमार्फत घोषणा भएको संविधानमाथि हमला गरेको उल्लेख गर्दै दाहालले सबैलाई सडकमा उत्रिन आग्रह गरे। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छाडेर हिँडेका नेता लेखराज भट्ट दलालको पनि दलाल भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्