प्रचण्ड भन्छन्- संसद् भंग भएको छैन, ओली सरकार विघटन भएको हो

काठमाडौं, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको बताएका छन् ।शुक्रबार विराटनगरमा नेकपाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

साथै उनले संसद् भंग नभएको बताउँदै बरु केपी ओली नेतृत्वको सरकार विघटन भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा विघटन भएपछि केपी ओली सरकारको वैधानिकता समेत नहुने बताए।

उनले आवश्यक परे संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने पनि बताए । तर, सर्वोच्चको निर्णय पर्खने उनको भनाइ छ ।उनले प्रतिनिधिसभा नभई संविधान नै विघटन गरिएको उल्लेख गरे ।

ओली खुरापाती भएको र कम्युनिस्ट पार्टीमा पसेर प्रतिक्रान्तिको चंगुलमा बसेको आरोप उनले लगाए ।
देश कोरोना महामारीले आक्रान्त भएको बेला देशमा प्रतिक्रान्तिको प्रयास हुँदै गरेको र त्यसको विपक्षमा जनता सडकमा आएको जिकिर उनले गरे ।

उनले अहिले केपी ओलीले महाराज बन्ने खोजेको बताएका छन्। तर, केपी ओलीको महाराज बन्ने सपना पूरा हुन नदिने पनि उनले बताए।

उनले संविधानको रक्षा गर्नु कर्तव्य रहेको बताउँदै संविधान रक्षाका लागि जोसँग एकताको प्रस्ताव गरियो उसैले ३ वर्ष नहुँदै उनले धोका दिएको बताए।

प्रतिक्रिया दिनुहोस्