निर्वाचन आयोगले भन्यो – नेकपाको आधिकारिकताबारे कुनै निर्णय भएकै छैन

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले सत्तारुढ नेकपाका दुवै समूहलाई कुनै किसिमको आधिकारिकता नदिएको प्रष्ट पारको छ । शुक्रबार ओली समूहका नेता सुवासचन्द्र नेम्बाङसहितसँग अनौपचारिक छलफलपछि आयोगले यस्तो प्रतिक्रिया दिएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले अहिलेलाई नेकपाका दुईजना अध्यक्ष मात्रै चिन्ने बताए ।
उनले २०७५ जेठ ३ गते निर्वाचन आयोगमा दर्ता भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै चिन्ने स्पष्टीकरण दिएका छन् ।

निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा २ अनुसार कुनै पनि समूह निवेदन लिएर नआएको आयुक्त नरेन्द्र दाहालले जनाकारी दिए । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।

ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार गरेको थियो ।

यससँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड ने रहेको आयोगले बताएको छ । केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भएको पनि उल्लेख गरको छ ।

प्रतिक्रिया दिनुहोस्