भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका आजबाट खुले !

काठमाडौं, माघ १६ । कोरोनाका कारण बन्द रहेका भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका आजदेखि खुलेका छन् । सरकारले देशभरिका ३० नाका खोल्ने निर्णय गरेसंगै भारतसँग जोडिएका सुदुरपश्चिमका ४ नाका खुलेका हुन् ।

मन्त्रिपरिपषदको निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गर्ने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । सुदूरपश्चिमका बैतडीको झुलाघाट, दार्चुलाको खलङ्गा÷पुलघाट, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्ण रुपमा खुला गरिएको मन्त्रालयले जनाएको छ ।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन् । तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ ।

नेपाली पक्षको तर्फबाट झुलाघाट नाका खुला रहेको भएपनि भारतीय पक्ष अझै तयार भइसकेको छैन । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्