इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, करिब ५ लाखले पाए थप १० कित्ता

काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको कार्यलयमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धकका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ ।
आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदकले सबैले शेयर पाएका छन् । त्यस्तै रित नपुगेका ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

नेपालको इतिहासमा हाल सम्मकै सबैभन्दा ठूलो आइपिओ जारी गरेको यस बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्