नेपाली खेलाडि सम्मिलित टी-१० लिग आजदेखि युएईमा सुरु हुँदै
काठमाडौं, माघ १५ । आजदेखि चौथो संस्करणको आबुधाबी टी-१० लिग क्रिकेट सुरु हुँदैछ । युएईमा हुने टी-१० लिगमा यस पटक चार नेपाली खेलाडी सहभागी भएका छन् । यस लिगमा नेपाली खेलाडि रहेकाले पनि नेपालमा यसको चासो र चर्चा बढेको छ ।
आजदेखि सुरु हुने लिगको उद्घाटन खेलमा सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले नर्दन वारियर्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।
यस्तै राति ८ बजे करण केसी सम्मिलित पेनेल डेक्कन ग्लाडिएटर्ससँग खेल्नेछ । पुनेले इंग्ल्याण्डका डेभिड मालानलाई आइकन प्लेअरको रुपमा एक दिनअघि अनुबन्ध गरेको छ । यस्तै तेस्रो खेल बेंग्ला टाइगर्स र दिल्ली बुल्सबीच हुनेछ ।
नेपालका तीन खेलाडी पहिलो पटक टी-१० लिगमा छनोट भएका हुन् । यस्तै गत सिजन खेलेका पारस खड्का यस पटक मेन्टरको रुपमा छन् ।
सोमपाल कामी मराठा अरेबियन, करण केसी पुने डेभिल्स र कुशल मल्ल टीम आबुधाबीमा समावेश छन् । यस्तै पारस खड्का टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् ।
नेपाली खेलाडी रहेको दुई खेल आज हुने भएकोले नेपाली क्रिकेट प्रेमीको चासो टी(१० लिगतिरै छ । अब सोमपाल र करण आज खेल्न पाउँछन् कि पाउँदैनन् हेर्न बाँकी छ । कुशल समावेश अबुधाबीले शुक्रबार डेक्कनसँग पहिलो खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्