कोरोना प्रभावः देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द
काठमाडौं, माघ १५ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् ।
निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।
नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनले बताए ।
इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ ।
अहिलेको अवस्थामा भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको भएको छ । यसले गर्दा इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्को बाध्यता छ ।
नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्