कोरोनाविरुद्धको खोप अभियान सुरु भएकोमा राष्ट्रपतिद्वारा खुशी व्यक्त

काठमाडौं, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकामा खुशी व्यक्त गरेकी छन् । उनले खुशी व्यक्त गर्दै सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले विश्वमा कोरोनाविरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनामै नेपालले पनि खोप अभियान थालेकामा खुशी व्यक्त गरेकी हुन् ।

पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएकोमा हर्ष व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णयको प्रशंसा समेत गरेकी छन् ।

सबै नागरिकलाई चरणबद्धरूपमा खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एक अर्काको बीचमा कम्तिमा २ मिटरको दूरी कायम राख्न र पटक पटक साबुन पानी वा सेनिटाइजरले हात सफा गर्न पनि सुझाव दिएकी छन् । खोप अभियानलाई सफल पार्न उनले जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत समाजका सबै क्षेत्रसँग अपील पनि गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन् , ‘कोरोना महामारी नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ । यसबाट विश्वभरी नयाँ आशा र विश्वासको सञ्चार भएको छ । खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’

विश्वका सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्दछ भन्ने नेपालको स्पष्ट मान्यता रहेको भन्दै उनले कोभिड–१९को विश्वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिएको पनि उल्लेख गरेकी छन् ।

महामारीबाट लाखौँ व्यक्तिले ज्यान गुमाउनु परेको, करोडौँ व्यक्ति प्रभावित भएको र यसको प्रभावबाट हाम्रो देश पनि अछुतो नरहेको भन्दै उहाँले कोरोनाविरूद्ध अग्रपंक्तिमा रहेर सेवा गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायत सबैमा आभार पनि व्यक्त पनि गरेकी छन् । नेपालमा आजबाट कोरोना खोप अभियान सुरु भएको छ । अभियान सातै प्रदेशमा एकै पटक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्