विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल
काठमाडौं, माघ १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले यसताृे बताएका हुन् ।
साथै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने पनि बताए । उनले भने , “विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं ।”
अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे । यस क्षेत्रका विकासका मुद्दालाई ओझेलमा पर्न नदिन स्थानीयवासीको पनि उत्तिकै भूमिका हुने छ भन्दै अर्थमन्त्री पौडेलले समयसमयमा खबरदारी गर्न आवश्यक रहेको बताए ।
“यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन”, अर्थमन्त्री पौडेलले भने , यहीस्थलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको आगिङ्क क्याम्पस निर्माणको प्रक्रियासमेत शुरु गरिएको छ । यो योजना सम्पन्न हुँदा यो ठाउँको मुहार बदलिने छ ।”
विसं २०७६ भदौ ३० गते निर्माण सम्पन्न भएको दानव नदी पुलको लम्बाइ ९८ दशमलव २५ मिटर र चौडाइ ७ दशमलब २ मिटर रहेको छ । पुलको लागत रु ६ करोड २३ लाख रहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।
यसअघि अर्थमन्त्री पौडेलले आजै बिहान योगीकुटी र शिवनगर जोड्ने मगरघाटको पुल उद्घाटन गर्नुभएको थियो । सो पुल २०७३ सालमा सम्झौता भएर २०७६ माघमा सम्पन्न भएको हो । १८० मिटर लम्बाइ ११ मिटरकै चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्