जुम्ला आगलागी पीडितलाई राहत र पुनर्स्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौं, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले आज अपराह्न ट्वीटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनर्स्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।

जुम्लाको गोठीगाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् भने धेरैमा क्षेती पुगेको छ । साथै पशुचौपाया समेत मरेका छन् ।

गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्