महिला लिगमा एपिएफको लगातार तेस्रो जित
काठमाडौं, माघ १३ । राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–० ले हराउँदै जित निकालेको हो ।
एएिफको जितमा अञ्जलीकुमारी योञ्जन र सरु लिम्बूले १–१ गोल गरे । खेलको २७औँ मिनेटमा अञ्जलीले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् भने सावित्रा भण्डारीको पासलाई सदुपयोग गरेकी हुन् ।
थप गरिएको समयमा सरुले सावित्राकै पासलाई गोलमा परिणत गर्दै एपिएफको अग्रतालाई दोब्बर बनाइन् । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि एपिएफले २–० जित दर्ता गरेको हो ।
जितसँगै एपिएफ ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा कायम छ । उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० र दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–०ले हराएको थियो ।
प्रतियोगितामा पहिलो पराजय व्यहोरेको आर्मी समान खेलबाट ४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको उसले दोस्रो खेलमा वालिङ नगरपालिकालाई ७–० ले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्