लिभरपुलसंग लेस्टर सिटी स्तब्ध

(एजेन्सी)– लिभरपुलले प्रिमियर लिगमा गए राती लेस्टर सिटीलाई ३–२ ले हराएको छ । लिभरपुलका लागि मोहोम्मद सलाह , फिलिपे कौटिन्हो र कप्तान जोर्डन हेन्डरसनले गोल गरे ।

कौटिन्होले क्लबका लागि सिजनको पहिलो गोल गरे । भ्रमणकारी टोलीका गोलकिपर सिमोन मोग्नोलेटले जेमी भार्डीकोे पेनाल्टी रोकेपछि लिभरपुलले निकै प्रतिस्पर्धात्मक खेलमा ३ अंक प्राप्त गर्न सफल भएको हो । मंगलबार लिग कपमा लिभरपुललाई हराएको लेस्टरले खेलको १५ औं मिनेटमा पहिलो गोलको सामना गर्यो ।
पहिलो गोलमा पास मिलाएका कौटिन्होले २३ औं मिनेटमा उत्कृष्ट फ्रिकिक मार्फत गोल गरेका हुन् । लेस्टरले पहिलो हाफको इन्जुरी समयमा ओकाजाकीको गोलमा खेलमा फर्कने प्रयास गरेको थियो । ओकाजाकी लिभरपुलको डिफेन्सबाट अनमार्कड रहँदा गोल गर्न सफल भए । ६८ औं मिनेटमा गोल गर्दै लिभरपुलका कप्तान हेन्डरसनले लिभरपुलको अग्रतालाई पुनः फराकिलो पारे ।

हेन्डरसनको गोलपछि लिभरपुलको जित निश्चित जस्तै देखिएको थियो, तर लेस्टरले दबाब दिंदै खेलमा फर्किने प्रयास जारी राख्यो । ६९ औं मिनेटमा भार्डी ले गोल गरे । डेमाराइ ग्रेको प्रहारलाई मिग्नोलेटले रोकेपनि रिबाउन्डमा खाली पोस्टमा भार्डीले हेड गरेका थिए । त्यसको लगतै ७२ औं मिनेटमा लेस्टरको काउन्टर एट्याकमा मिग्नोलेटले भार्डीलाई लडाएपछि पाएको पेनाल्टीलाई मिग्नोलेटले बचाउ गरे । जसका कारण घरेलु टोली बराबरी गर्नबाट चुक्यो ।

६ खेलमा २ बराबरी गरेको लिभरपुलको ३ जित सहित ८ अंक छ । लिभरपुल अंक तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने लेस्टर १ जित , १ बराबरी र ४ पराजयसँगै १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्