नेपालमा बुधबारबाट कोरोनाविरूद्धको खोप अभियान सुरू हुने, यसरी हुँदैछ तयारी
काठमाडौँ–, माघ ११ । नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ ।
यसका लागि भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म पुगिसक्नेछन् ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लक्षित समूहलाई पहिलो चरणमा लगाउनका लागि सात वटै प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बताए ।
गौतमका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ ।पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । प्रवक्ता गौतमले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।
खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।
दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।
भारत सरकारले बिहीबार ९यही माघ ८ गते० अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको हो ।
सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।
यसैगरि कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका हुन ।
खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।
पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् ।
मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो ।
प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा। मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनी, गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमलाई संयोजक तोकिएको छ ।
यस्तै लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेललाई संयोजकका रूपमा खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्