विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन सकेनौँ: प्रचण्ड

काठमाडौँ, माघ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको बताउँदै उनले बाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा गरेको वाचा पूरा गर्न नसकेको उल्लेख गरे ।

उनले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु । सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न । अब हामी यस्तो हुन दिने छैनौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने तर कार्यान्वयन नगर्ने परिपार्टीले कुनै काम गर्न नसकेको आरोप उनले लगाए ।  विरोधसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताए ।

ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको दाहालको भनाइ थियो ।
साथै उनले ओली प्रवृत्ति स्वीकार गर्ने भुल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए ।
आफूहरुको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफू जनतामा आउनुपरेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्