मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेस

काठमाडौं, माघ ९ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेस सभामा पेस भएको छ ।

शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा नेकपा सांसद् अरुण नेपालले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेश गरेका हुन् ।

नेकपाको प्रचण्ड(नेपाल पक्षले गत पुस १० गते ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेका थिए ।

प्रदेशको पूर्व उद्योगमन्त्रीसमेत रहेका नेपालले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा काम गर्न नसकेको आरोप लगाउदै प्रदेशप्रति जनताको विश्वास स्थापित गर्नबाट चुकेको आरोप लगाएका थिए ।

अहिले सबैका सामु प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने अवस्थामा सरकार चुकेको नेपालले बताए । उनले सरकारले कोरोना महामारीमा भूमिका खेल्न नसकेको आरोप लगाए ।

साथै नेपालले प्रदेश सभामा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत जानकारी दिएका थिए ।

अविश्वास प्रस्ताव पेशपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गर्दै प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्