प्रतिनिधिसभा विघटनको मुद्दाः बहस छिट्टो टुङ्ग्याउन प्रधानन्यायधीश जबराको आग्रह

काठमाडौं, ९ पुस । प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि बसह जारी नै रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतवारदेखि अन्तिम सुनुवाइ चलिरहेको हो । छैटौं दिनको सुनुवाइको सुरूमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरिरहेका छन् ।

यसैबीच आजको बहसमा प्रधानन्यायधीश जबराले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् । कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी उभिएपछि प्रधानन्यायाधीशले १० मिनेटमा बहस सिध्याउन भनेका थिए भने अधिकारीले आफूलाई १५ मिनेट दिन आग्रह गरे ।

पछिल्लो समय प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्नेहरू अधिवक्ताहरुलाई संवैधानिक इजलासले कम समय दिन थालेको छ ।

१३ रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेपछि अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले बहस समय छोट्याउन भनेको हो । यसैगरि महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना संवैधानिक इजलासमा पेश गरेका छन् ।

बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो। शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ सुरू भए लगत्तै खरेलले राजपत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्