प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरु, काठमाडौंको सवारी आवागमन अस्तव्यस्त
काठमाडौं, माघ ९ ।प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा यो समहुले शक्ति प्रदर्शन गरिरहेको छ । शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको भएको प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत हुने जनाएको छ।
जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा भइरहेको छ । जुलुस माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु भएका हुन्।
जसअन्गर्तत माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, डिल्लीबजारको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले र लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेतलगायतका नेताहरुले गरिरहेका छन्।
त्यस्तै कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्ति वाटिकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेज अगाडिको जुलुसको देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री, वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठले गरेका छन्। यसैबीच विरोध सभाका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
विरोध सभा र प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएपछि महानगरीय ट्राफिक प्रहरीले अहिले सवारी साधनलाई डाइभर्सन गरिरहेको छ ।
काठमाडौं उपत्यकाको तिनकुने, गौशाला, सिनामंगल, नारायणगोपालचोक, गोंगबु, बालाजु, कलंकी, बल्खु र सातदोबाटोबाट रिङरोडभित्र आउने ठूला तथा भाडाका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।
त्यस्तै पद्मोदयमोड, पुतलीसडक, कमलादी मोड, महेन्द्र शालिक, त्रिपुरेश्वर, सिंहदरबार, केशरमहल, संग्रहालय दक्षिणगेटबाट रत्नपार्कतर्फ र खुल्लामञ्चतर्फ जाने सम्पूर्ण सवारी साधनलाई डाइभर्सन गरीएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
माइतीघरबाट सिंहदरबारतर्फ आउने र लोत्सेचोकबाट कमलपोखरी डिल्लीबजार हुँदै पुतलीसडकतर्फ आउने सवारीलाई पनि डाइभर्सन गरिएको छ । विभिन्न स्थानबाट रत्नपार्कको लागि ¥याली भइरहेकाले सवारी साधनलाई डाइभर्सन गरिएको हो ।
डाइभर्सनका कारण यतिबेला कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, जयनेपाल, लोत्सेचोक, डिल्लीबजार, मैतिदेवी, कमलादीमोड, गल्कोपाखा र केशरमहल चोकमा सवारी साधनको चाप छ ।
रिङरोड भित्रका मुख्य चोक भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्गको प्रयोग गरीयात्रा गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्