बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्न पाउँदैन : भीम रावल
काठमाडौं, माघ ९ । नेकपा (दाहाल–नेपाल समूह) का नेता भीम रावलले बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्न नपाउने जिकिर गरेका छन् । आज महेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग कुराकानीमा नेता रावलले यस्तो जिकिर गरेका हुन् ।
संविधानमा धारा ७६ को व्यवस्था गरिएको बताउँदै उनले अन्तर्राष्ट्रिय मान्यताको हास्यास्पद तर्क कानुनले व्याख्या गर्न नमिल्ने बताए ।उनले यतिबेला कानुनविद्हरुसँगै पूर्वप्रधानन्यायाधीशहरु सबैले एक स्वरले प्रधानमन्त्रीको संसद् भंग गर्ने कदम गलत निर्णय भएको भनिरहेको समेत बताए ।
रावलले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ र ८५ को गलत व्याख्या गरेर संसद् विघटन गर्नु असंवैधानिक र गलत निर्णय भएको टिप्पणी गरे ।
उनले गत भदौ २६ गते बसेको पार्टीको स्थायी कमिटी बैठकले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष तोकेको उल्लेख गर्दै उनी नै पार्टीको आधिकारिक अध्यक्ष भएको बताए ।
प्रधानमन्त्री ओलीले पार्टीको नीति, सिद्धान्त, विचार र बैठकका निर्णय नमानेको बताउँदै उनले र उत्पन्न परिस्थितिको रिस संसद् विघटन गरेर पोखेको नेता रावलले आरोप लगाए ।
नवनियुक्त वनमन्त्री प्रेम आलेलाई वन मन्त्रालयको जिम्मा दिनु भनेको ‘चोरका हातमा साँचो दिनु’ सरह भएको रावलले टिप्पणी गरे ।
उनले आले वनमन्त्री भएपछि शुक्लाफाँटादेखि लालझाडीसम्मका रुखहरु त्रसित भएको उल्लेख गर्दै वनजंगल सखाप हुने आशंका व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्