काठमाडौं आइपुग्यो भारतले दिएको कोरोनाविरुद्धको खोप

काठमाडौँ , माघ ८ । भारतले नेपाललाई अनुदानस्वरूप दिएको कोरोना भ्याक्सिन काठमाडौँ आइपुगेको छ । भारतले आफुले बनाएको कोरोना विरुद्धको भ्याक्सिनको १० लाख डोज नेपाललाई उपलब्ध गराएको हो ।

नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमा खोप हस्तान्तरण गरेका छन् ।

खोप अभियान चलाउनका लागि प्रशासनिक र आर्थिक जटिलता नरहेकोले तुरुन्तै खोप अभियान चलाउन तयार रहेको मन्त्री त्रिपाठीले जानकारी गराएका छन् । नेपालले एक साता भित्रनै कोरोना खोप दिइने सबै जिल्लामा खोप पुर्याउने बताएको छ ।

भारतले भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो ।

भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी छिमेकीहरू भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गरिने जानकारी गराएको छ ।

मन्त्रालयले नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई आजदेखि खोप उपलब्ध गराउने बताएको छ । त्यस्तै श्रीलंका, अफगानिस्तान र मरिससलाई दिने भ्याक्सिनका लागि अहिले सम्बन्धित देशको नियमन निकायको अनुमति पर्खिरहेको बताएको छ ।

मन्त्रालयले भुटान र माल्दिभ्सका लागि कोरोना खोपको पहिलो लट गइसकेको जानकारी गराएको छ । भारतले कोरोनाको खोप दिएसँगै अब भने केहि आसा जागेको छ ।

प्रतिक्रिया दिनुहोस्