भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने
काठमाडौं, माघ ७ । भारतले नेपाललगायत छिमेकी मुलुकलाई आज (बुधबार) देखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।
पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइनसकेको मन्त्रालय स्रोतले बताएको छ । भारतले अनुदानमा दिने भनेको कोभिसिल्ड खोप प्रयोगका लागि यसै साता सरकारले अनुमति दिइसकेको छ ।
यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्