७० वर्ष लडेर ल्याएको गणतन्त्रको रक्षाका लागि संघर्षको मैदानमा उत्रन प्रचण्डको आह्वान

काठमाडौं , माघ ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरेको टिप्पणी गरेका छन् ।

सोमबार अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ७० वर्ष लडेर ल्याएको गणतन्त्रलाई रक्षाका लागि संघर्षको मैदानमा उत्रन उनले आह्वान गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी र निरंकुश कदमको विरुद्ध एकजुट भएर लाग्न पनि प्रचण्डले आग्रह गरे। उनले ढिलो नगरी जनअदालतमा गएर चाँडो फैसला सुनाउन तयार हुनुपर्ने स्पष्ट पारे।

उनले अहिलेसम्मको उपलब्धी रक्षाका लागि जनताको अदालतमा जानुपर्ने तर्क गरे। ९ गते देशका प्रमुख शहर र काठमाडौंमा हुने ऐतिहासिक प्रदर्शनमा सहभागि हुन सबैंलाई आह्वान गरे।

अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए ।

प्रचण्डले एकताका बेला भएको सहमति र सम्झौता ओलीले नमान्दा अहिलेको अवस्था आएको बताउँदै अध्ययन गर्न पनि आग्रह गरे। उनले सूर्य चिन्ह र लोगो आफूले पाउने भएकाले शंका नगर्न पुनस् आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्