प्रतिनिधि सभा विघटन: आजको सुनुवाइ सकियो , भोलि पनि जारी रहने

काठमाडौँ , माघ ५ । प्रतिनिधि सभा विघटनका विरुद्ध परेका रिटमाथि सोमबार भएको बहस सकिएको छ।

संवैधानिक इजलासमा आइतबारदेखि विषय केन्द्रित बहस प्रारम्भ भएको थियो।उक्त मुद्दाको निरन्तर सुनुवाई मंगलबार पनि जारी रहने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए ।

सोमबारको सुनुवाइमा निवेदकका तर्फबाट दुई कानुन व्यवसायीले मात्रै सहभागिता जनाएका थिए । सोमबारको संवैधानिक इजलासको बहसमा दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै सहभागिता जनाएका हुन् ।

आइतबारको सुनुवाइमा चार जना कानुन व्यवसायीहरूले सहभागिता जनाएका थिए । न्यायाधीश अनिलकुमार सिन्हाले ३६४ कानुन व्यवसायी रहेकाले छोटो बहस गर्नुपर्ने सुझाव दिएका थिए । कानुन व्यवसायीहरूले लामो समय लिँदा मुद्दामा बहस लम्बिने देखिएको छ । यो मुद्दा टुंग्याउन समय लाग्ने देखिएको हो ।

प्रतिनिधिसभा विघटनका मुद्दामा दोस्रोदिनसम्म वरिष्ठ अधिवक्ताले बहसमा सहभागिता जनाएका छैनन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो यसपछि त्यसविरुद्ध १३ रिट निवेदन परेका छन् ।

प्रतिक्रिया दिनुहोस्