संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने बेला आयो : डा. भट्टराई
काठमाडौं , माघ ५ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने बेला आएको बताएका छन् ।
सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले यस्तो बताएका हुन् ।
‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने बेला आयो उनले भने ।
कांग्रेसको आन्दोलनले नै अब संविधानमाथि आएको संकटलाई बचाउन सक्ने उनको भनाइ थियो ।
आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अझै पनि अलमलमा छ । अलमलमै रहेको बेला भट्टराईले यस्तो औंल्याएका हुन् ।
उनले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताउँदै संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन सक्ने बताए ।साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ अग्रसर भएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले अदालतसमेत परीक्षाको घडीमा रहेको उल्लेख गरे । डा. भट्टराईले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए र बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने चेतावनी दिए प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएको उनले जिकीर गरे ।















प्रतिक्रिया दिनुहोस्