प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सुनुवाइ सुरू
काठमाडौँ , माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू भएको छ । पुस ६ गते परेको सबै १३ वटै रिटमाथि संवैधानिक इजलासमै बहस गर्ने निधो लागेपछि आइतबारबाट नियमित सुनुवाइ सुरू भएको हो ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना मल्ल प्रधान रहेको इजलास गठन गरिएको छ ।
आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि पहिलो दिनको सुनुवाइमा भीमार्जुन आचार्यले संसद विघटन हुनै नसक्ने तर्क प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरूद्ध १३ रिट निवेदन दर्ता भएको थियो ।
रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्