संसद् विघटनः उपत्यका केन्द्रित आन्दोलन चर्काउने रणनीतिमा प्रचण्ड–नेपाल समूह
काठमाडौं, माघ ५ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले उपत्यकाकेन्द्रित आन्दोलनमा जोड दिएको छ । संसद् पुनस्र्थापनाका लागि जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउनुपर्ने निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल समूहले ९ माघमा काठमाडौंमा बृहत् जनप्रदर्शन र सभा आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।
संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसका विरुद्ध राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रने घोषणा गरेको प्रचण्ड–नेपाल समूहले दबाब सिर्जनाका लागि उपत्यकाकेन्द्रित संघर्षमा जोड दिएको हो । संसद् विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा आइतबारदेखि नियमित सुनुवाइ सुरु भएकै वेला प्रचण्ड–नेपाल समूहले सशक्त आन्दोलनमा जोड दिएको छ । पूर्व न्यायाधीश र नागरिक समाजकै अगुवाले समेत सडकबाट ‘कोर्स करेक्सन’का लागि दबाब दिन सकिने अभिव्यक्ति दिएका छन् ।
केन्द्रीय संघर्ष समितिको पछिल्लो बैठकले ‘प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि’ ९ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताए । विरोध प्रदर्शनको तयारीकै सिलसिलामा ७ माघमा भृकुटीमण्डपबाट उपत्यकाव्यापी मोटरसाइकल र्याली आयोजना गर्ने नेपाल–प्रचण्ड समूहको तयारी छ ।
उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित अपराह्न १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गरिने पनि उनले जानकारी दिए । विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ–संगठन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा संघर्ष समितिका तर्फबाट अपिल गरिएको छ ।
राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि ४, ५ र ६ मााघमा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गरिएको जारी विज्ञप्तिमा छ । त्यस सिलसिलामा ६, ७ र ८ माघमा पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभासहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी र जनसंगठनहरूलाई निर्देशन गरिएको सहसंयोजक भट्टराईले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्