चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श
काठमाडौँ, माघ ४ । निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको चुनावका विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आइतबार विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको हो ।
आयोगले मतदान केन्द्र पुनरावलोकन कार्यक्रमका बारेमा जानकारी गराइ उनीहरुको राय परामर्श समेत लिएको जानकारी दिएको छ ।
आयोगले राजनीतिक दलसँग चुनावको कार्यक्रममा सहभागी भइदिन तथा आमनागरिकलाई सहभागी हुनका लागि राजनीतिक दलका तर्फबाट सबैलाई सुसूचित गराउन तथा चुनाव सम्पन्न गर्नका लागि सहयोग समन्वय र सहजीकरण गरिदन अनुरोध गरेको हो ।
आयोगले माघ १५ गते सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन गर्ने समेन जानकारी दिएको छ ।
मतदाता नामावली अध्यावधिक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सञ्चालन गर्ने र १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी गराएको हो । सोही समयमा नामावली सच्याउन सकिने आयोगले जनाएको छ । यस्तै मतदान केन्द्र र तयारी बारेमा छलफल भएको थियो ।
छलफलमा सहभागी नेकपा प्रचण्ड–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटी सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको जानकारी दिए ।
त्यस्तै उनले संसद विघटनको विषय सर्वोच्चमा रहको अवस्थामा चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताए ।
त्यस्तै कांग्रेस नेता आनन्द ढुङ्गानाले मतदान केन्द्रमा केन्द्रीत रहेको आयोगले सुझाव मागेको जानकारी दिए । उनले आयोगले निर्वाचनको तयारीको काम सहज रुपमा गर्न पाउनुपर्ने आफूहरुको धारणा रहेको बताए ।
छलफलपछि आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको तयारीका बारेमा जानकारी गराई राय सुझाव लिने काम गरेको बताए ।
सरकारले संसद विघटन गरी आउँदो वैशाख १७ र १७ गते चुनावको घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस्