अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता, फेरि हिंसात्मक प्रदर्शन हुन सक्ने चेतावनी

काठमाडौं, माघ ४ ।  जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन्। उनको शपथ ग्रहण कार्यक्रमलाई लक्षित गर्दै अमेरिकाभर प्रदर्शन हुने अनुमान गरिएको छ।

हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता बढाएको छ । यसअघि पनि ट्रम्पका समर्थकले संसदमा आक्रमण गरेका थिए । फेरि पनि यो अवस्था नआवस भन्नलाई राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ ।

सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ। सार्थै राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथ ग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास पनि गरिएको छ ।

ट्रम्प समर्थकहरूले अनलाइनमार्फत् हतियार सहितको प्रदर्शनको आह्वान गरेका कारण आइतबारका लागि डाकिएको प्रदर्शन महत्त्वपूर्ण ठानिएको छ।तर केहीले भने उक्त प्रदर्शन प्रहरीले सृजना गरेको फन्दा रहेको र सुरक्षा व्यवस्था निकै कडा पारिएको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने लगत्तै अमेरिकामा सुरक्षा सतर्कता बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्