निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सबै दललाई, नेकपाका दुबै पक्षलाई पत्र

काठमाडौं , माघ ४ । निर्वाचन आयोगले आयोगमा दर्ता भएका सबै राजनितिक दललाई छलफलको लागि बोलाएको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई आयोगको कार्यालयमा बोलाएको हो ।

आयोगले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएको छ । पत्रमा निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन आग्रह गरेको छ ।

नेकपाका दुबै पक्षलाई पत्र

आयोगले नेकपाको लागि दुई पत्र लेखेको छ । औपचारिक रुपमा आयोगमा छुट्टै दल दर्ता नभएपनि आयोगले नेकपाका दुवै पक्षलाई आफ्नो निर्वाचन हेर्ने दुई जना प्रतिनिधि पठाइदिन आग्रह गरेको छ ।

आगामी वैशाखमा हुने भनिएको निर्वाचनबारे छलफल गर्न दलहरूलाई आज बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेर वैशाखमा निर्वाचन तय गरेका थिए। तर प्रधानमन्त्रीकै कदमविरुद्ध सर्वोच्चमा मुद्धा विद्धचाराधिन छ ।

उता आयोग भने निर्वाचनको तयारीमा जुटेको छ । यता विभिन्नदलहरु भने सडकमा आएका छन् । संसद विघटनकोविरुद्धमा ।

प्रतिक्रिया दिनुहोस्