संसद् विघटन असंवैधानिक भएकाले यसको सबैले डटेर सामना गरौंः नेता पौडेल

काठमाडौं, माघ २ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको प्रष्ट पारेका छन् ।

शुक्रबार भिडियो सन्देश दिँदै नेता पौडेलले संसद् विघटनको निर्णय नसच्याए अनर्थ हुने र यस्तो असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने जिकीर गरेका हुन् ।

देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने प्रपञ्च भएको भन्दै नेता पौडेलले जनताको आवाज सर्वोच्च अदालतसम्म पुर्‍याउन पनि डटेर प्रदर्शन गर्नुपर्ने उल्लेख गरे ।

७० वर्ष लगाएर बनाएको संविधान र व्यवस्थामा प्रधानमन्त्री ओलीले प्रहार गरेको आरोप पनि नेता पौडेलले लगाएका छन् ।

शनिबार पार्टीले देशका ७५३ वटै स्थानीय तहमा राखेको विरोध कार्यक्रमको पूर्वसन्ध्यामा नेता पौडेलले कार्यकर्तालाई विरोध प्रदर्शनका लागि पनि आग्रह गरेका छन् । यसअघि कांग्रेसले संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्