अध्यक्ष तिमिल्सिना भन्छन्- पुनःस्थापना भए संसद बैठक चल्छ

काठमाडौं , माघ २ । प्रतिनिधिसभा विघटनको विषय अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।फैसलाको निर्णयमा आम जनता छन् । यसेबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय गरे संसद बैठक सुचारु हुने बताएका छन्।

शुक्रबार नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्।

केही राजनीतिक दलहरुले संसद ज्यूँदै रहेको र सभामुखले संसद आह्वान गर्नसक्ने तर्क गरिरहँदा अध्यक्ष तिमिल्सिनाको यो अभिव्यक्ति आएको हो।उनले सर्वोच्चको फैसलापछि के हुन्छ भन्ने विषयमा अहिल्यै अनुमान गर्न नसकिने पनि बताए।

अध्यक्ष तिमिल्सिनाले नेपाली जनताले इतिहासै लोकतान्त्रिक सरकारले आफ्नो कार्यकाल पूर्ण रुपले बिताएको देख्न नपाउनु विडम्बनापूर्ण रहेको पनि बताए। अध्यक्ष तिमिल्सिनाले एमाले र माओवादी केन्द्र नमिलेको भए केही फरक नपर्ने उल्लेख गर्दै अहिले फुटको संघारमा पुग्नु राष्ट्रको हितमा नभएको जिकिर पनि गरे।

उनले संसद विघटन भएकाले विधेयकको काम फेरि थाल्नुपर्ने अवस्था आएको बताए। विधेयक दुबै सदनबाट पारित गर्नुपर्ने भएकाले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका सबै विधेयक शून्य अवस्थामा पुगेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्