नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं, माघ २ । नेपाल–भारतका परराष्ट्रमन्त्रीबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन नयाँदिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिलामन्त्री सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) बीच भेटवार्ता भएको हो ।

शुक्रबार बिहान भएको भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका विदेश मामिला सचिव हर्षवर्द्धन श्रृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दुबै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा हुने आयोगको बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा दुबै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालयरविभागका उच्च अधिकारी पनि सहभागी हुने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्