ओलीको तानाशाही प्रवृत्तिबाट सिङ्गो मुलुक पिल्सिरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं, माघ १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशही प्रवृत्तिबाट सिङ्गो मुलुक पिल्सिरहेको बताएका छन् ।

नेपाल बुद्धिजीवि संगठनले काठमाडौंमा आयोजना गरेको राजनीतिक एवं संवैधानिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले ओलीले देशमा तानाशाह लाद्न खोज्दा नेपाली नागरिकले आइया, आत्थु पनि भन्न नपाइरहेको बताए । अध्यक्ष नेपालले ओलीले भनेको कुरामा नमान्नु नै आफूहरुको अपराध जस्तो भएको बताए ।

कार्यक्रममा  नेपालले संवैधानिक ‘कू’ गरेका बेला चुनावको अर्थ नभएको बताएका छन् । वैशाखमा चुनाव नहुने पनि उनले दाबी गरे ।

केपी ओलीले पाँच वर्षसम्मको प्रधानमन्त्री आफूले नै भने पनि नकारात्मक रुपमा नसोचेको उनले बताए । ओली बदलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको अध्यक्ष नेपालले बताए ।उनले देश विकासका लागि अब राजनीतिक प्रणाली परिवर्तन र प्राथमिकताका क्षेत्र निर्धारण गरेर अघि बढिनु पर्ने पनि बताएका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले देश विकासका नाममा बाँडेको आश्वासन कुनै पूरा नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्