केयूको पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति होस् : डा. केसी
काठमाडौँ , माघ १ । वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले काठमाडौँ विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्दा आफ्नो सत्याग्रहमा भएका सम्झौताहरु समेत कार्यान्वयन हुने गरी सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
विहिबार एक विज्ञप्ति जारी गर्दै डा। केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रिया शुर भएको र उपकुलपतिमा तीन दर्जनभन्दा बढी आवेदनहरु परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनु पर्ने माग गरेका छन् ।
उनले मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम् अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेको भन्दै देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरु उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा पदाधिकारीहरु चल्ने गरेको बताएका छन् ।
डा. गोविन्द केसीको विज्ञप्ति
काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटिले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदनहरु परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनु पर्दछ । त्यसका लागि विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्दछ ।
खास गरी मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम् अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेका छन् । देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरु उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा पदाधिकारीहरु चल्ने गरेका छन् । कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्रीपरिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन् ।
त्यसैले हामीसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु समेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन सम्बन्धित सबैसमक्ष माग गर्दर्छौं ।
डा गोविन्द केसी
काठमाडौं
२०७७ माघ १
प्रतिक्रिया दिनुहोस्