परराष्ट्रमन्त्री ज्ञवाली भोली भारत जाँदै, कोरोना भ्याक्सिन मुख्य प्राथमिकता
काठमाडौं, पुस २९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । नेपालका लागि भारतमा उत्पादित कोभिड–१९ भ्याक्सिन सुरक्षित गर्नु उनको भ्रमणको मुख्य प्राथमिकता हुने भएको छ ।
ज्ञवाली भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा भारत जान लागेका हुन् । नेपाल भारत संयुक्त आयोगको छैटौ बैठकमा सहभागी हुनको लागि परराष्ट्रमन्त्री भारत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठकमा व्यापार, ट्रान्जिट, ऊर्जा, सीमा, कोभिड–१९ सहकार्य, संरचना, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायतका विषयमा छलफल हुने बताएको छ ।
परराष्ट्रमन्त्री सँगै उनको साथमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, विदेश सचिव भरत पौडेल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत जाने भएका छन् । स्वास्थ्य सचिव समेत जाने भएसँगै कोभिड १९ भ्याक्सिनको विषयमा ठोस कदम चालिने र सम्झौतामा हस्ताक्षर हुने विश्वास गरिएको छ ।
रिपोर्टअनुसार नेपालले भारतसँग १२ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेको छ । र, भारतले नेपालले मागेजति नै भ्याक्सिन डोज आपूर्ति गर्ने सम्भावना पनि छ ।
प्रतिक्रिया दिनुहोस्