नेपाल राष्ट्र बैंकले गर्यो लघुवित्तलाई पुनर्कर्जा लिन आह्वान

काठमाडौं, पुस २८ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई पनि पुनर्कर्जा लिन आह्वान गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको लागि सूचना प्रकाशित गर्दै पुनर्कर्जाको लागि आवेदन दिन आह्वान गरेको हो ।

राष्ट्र बैंकले पुस २७ गते सोमबार एक सूचनामार्फत माघ १२ गतेसम्म पुनकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । लघुवित्तका ग्राहकले पहिलोपल्ट पुनर्कर्जाको सहुलियत पाउने गरी चालु आर्थिक वर्षमा नै राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ जारी गरेको थियो ।

उक्त कार्यविधिमा कुल पुनर्कर्जाको लागि उपलब्ध स्रोत मध्ये १० प्रतिशत लघुवित्तमार्फत वितरण गर्ने बताएको थियो ।हाल पुनर्कर्जा कोषमा ४२ अर्ब स्रोत रहेको छ ।

जसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था पुनर्कर्जा कार्यविधिले गरेको छ । यस अधारमा राष्ट्र बैंकले २ खर्ब १० अर्ब पुनर्कर्जा लगानी गर्न सक्नेछ । जसको १० प्रतिशत लघुवित्तमार्फत लगानी गनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

सोही कार्यविधिको आधारमा राष्ट्र बैंक लघुवित्तलाई एकमुष्ट पुनर्कर्जाको लागि आवेदन माग गरेको हो । लघुवित्त संस्थाहरुले असोज मसान्तमा कायम रहेको पुँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म पुनर्कर्जा माग गर्न सक्नेछन् ।

यस्तै, तोकिएको चुक्ता पुँजी पुगेको, आफ्नो कार्यक्षेत्रभन्दा बाहेक बाहिर कर्जा प्रवाह नभएको, विगत एक वर्षयता राष्ट्र बैंकबाट कुनै पनि कारवाहीमा नपरेको र संस्थाका सञ्चालक समितिका पदाधिकारी र सीईओ विगत ३ वर्षयता कुनै पनि कारवाहीमा नपरेको भएमा मात्र पुनरर्कर्जा माग गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्त संस्थाहरुले पुनर्कर्जाको लागि आवेदन दिएपछि राष्ट्र बैंकले अध्ययन गरेर स्वीकृत गर्छ ।

प्रतिक्रिया दिनुहोस्