कामै गर्न दिएनन्, जालझेल र झमेला गरे, बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि संसद् विघटन गरेँ: प्रधानमन्त्री

काठमाडौं , पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सत्तारुढ नेकपाकै नेताहरुले काम गर्न नदिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले आफ्नो सरकारविरुद्ध पुष्पकमल दाहालको खुमलटारस्थित घरमा २८० वटा बैठक बसेको खुलासा गरे। वैशाख १३ देखि पुस ४ गतेसम्मका बैठक हेर्दा पार्टीलाई कमजोर पार्न गुटका बैठक २८० वटा बसेका रहेछन्।

एउटै नेताको घरमा ३५ वटा बैठक अन्यत्र बसेका रहेछन्, दाहालको नाम नलिइ उनले भने, दुईतीनजना नेता बसेको बैठकको हिसाब छैन। देशलाई अस्थिरतातर्फ लैजान खोजिएको थियो। त्यसैले प्रतिनिधिसभा भंग गरेर ताजा जनादेशमा गएका हौं।

उनले जनताले माया गरेर बहुमत दिए पनि जालझेल र षडयन्त्र गरेर कामै गर्न दिएको गुनासो गरे। नेपाली जनताले असाधारण विश्वासका साथ स्नेहपूर्वक हामीलाई जिम्मेवारी दिएका थिए। त्यस अभिभारालाई हामीले कर्तव्यनिष्ठका साथ काम गरेका थियौँ, उनले भने, सरकारलाई काम गर्न दिने वातावरण दिने वातावरण भएन।

सरकारको कामलाई व्यवधान गरियो। जहिले झमेला मात्रै खडा गरियो। केही व्यक्तिका व्यक्तिगतका आकांक्षा महत्वकांक्षाले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोजियो। देशलाई अगाडि बढ्न नदिएर बहुमतलाई खण्डित गर्ने खेलमा लागियो।

ओलीले अस्वस्थ, अनुचित, अलोकतान्त्रिक लेनदेन, जालझेल, गठजोड, तिगडम र षड्यतन्त्रबाट ६र६ महिनामा प्रधानमन्त्री फेर्ने अवस्थातिर देशलाई धकेल्न खोजिएकाले संसद विघटन जस्तो अप्रिय कदम चालिएको बताए।

उनले संसदलाई पनि प्रभावकारी रुपमा काम गर्न नदिइएको आरोप लगाए। ओलीले देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताएका छन्।प्रतिनिधिसभाको पाँच वर्षे अवधि अगावै नयाँ जनादेश माग्न जनताको बीचमा जान लागिएको उनले बताए।

राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अवधि पूरा नहुँदै जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर जानुको दोष पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल ‘प्रचण्ड-नेपाल’ समूहलाई दिए।

प्रतिक्रिया दिनुहोस्