धनगढी पुगेर प्रधानमन्त्रीले भने -प्रतिनिधि सभा कुनै पनि हालतमा पुनःस्थापना हुँदैन, वैशाखमा चुनाव हुन्छ

काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनःस्थापना नहुने बताएका छन् । देश चुनावमा गइसकेको बताउँदै उनले अब प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबि गरे ।

शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए।

उनले आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको भन्दै कुनै पनि हलतमा पुनःस्थापना नहुने दावी गरेका हुन्

उनले निर्वाचनका लागि वैशाख १७ र २७ गरी दुई वटा मिति घोषणा भइसकेको बताउँदै सोही मितिमा चुनाव गराउनका लागि निर्वाचन आयोग तयारीमा लागिसकेको पनि जानकारी दिए।

‘कतिपयले ओलीले चुनाव गर्दैन भनेका छन्, दोहोर्‍याएर होइन तेहेर्‍याएर भन्न चाहन्छु वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ ओलीले भने, ‘खराब तत्वलाई तलैबाट ठेगान लगाएर पठाउनुस्, हात जोडेर भन्न चाहन्छु, देशद्रोही तत्वलाई गाउँगाउँबाटै ठेगान लगाउनुस्, तिनलाई भोट नहाले पुग्छ ।’

प्रधानमन्त्री ओलीले चुनावमा गलत र राष्ट्रघाती तत्वलाई तलैबाट तह लगाउन जनतालाई आग्रह समेत गरे।मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको भनाइ। भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने उनले बताए। पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे।

बाटोमा बसेर हामी यहाँ छौ भनेका उनीहरु पार्टीको बैठकमा नआएर सभ्यता उनीहरुमा नभएको बताए। प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडेका उनले आरोप लगाए।

आफूहरु गाली गलौजमा हिँडे पनि आफूहरु देश विकासमा लागिपरेको उनले दाबी गरे। कृषिमा रोजगारीमा सरकार लागिपरेको बताउँदै नेपालमा नै सरकारले रोजगारी खोज्ने ध्याउन्नमा लागेको बताए।

हरेक नेपालीले स्वास्थ्य उपचार निशुल्क पाउनुपर्नेमा उनले जोड दिए। यस्तो कृषि प्रधान देशमा बाहिरबाट किनेर खानुपर्ने भएकाले यसको समाधानका लागि सरकार लागिपरेको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्