ओली समूहले गर्यो भीम रावलसहित तीन नेतालाई कारबाही गर्न सिफारिस
काठमाडौँ , पुस २३ । नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेश कमिटीले नेता भीम रावलसहित तीन नेतालाई कारबाही सिफारिस गरेको छ । दाहाल-नेपाल समूहका नेता एव सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाही सिफारिस गरेको हो ।
बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावलसहित तीन जनालाई कारबाहीको सिफारिस गरेको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जनाकारी दिए ।
पार्टीको ३० लाख रकम अपचलन गरेको भएर पार्टी विधान बमोजिम भीम रावललाई प्रदेश इन्चार्जबाट हटाउन केन्द्रमा सिफारिस गरिएको उनले बताए । रावलसँगै प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई सचिव पदबाट हटाउन पनि सिफारिस गरेको उनले बताए ।
पार्टी सम्पत्तिको हिनामिना गरेको भएर पार्टी विधान बमोजिम रावल, सुवेदी र चौधरीलाई कारबाही गरिएको थापाले बताए ।
दाहाल–नेपाल समूहको पुस १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष थापासहित केही नेतालाई कारबाही गरेको थियो । तर यो निर्णयलाई आफूहरुले खारेज गरेको अध्यक्ष थापाले बताए । यसरी पछिलो समय नेकपा विभाजन भएसँगै दुबै समुहले एकअर्कालाई हटाउने तथा कारवाही गर्ने गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्