म प्रधानमन्त्री थिएँ भने राजीनामा दिन्थें : वामदेव गौतम

काठमाडौं, पुस २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पहिलोपल्ट राष्ट्रिय सभा वैठकलाई सम्वोधन गरेका छन् ।

राष्ट्रिय सभाको आज (बिहीबार) को वैठकमा १ नम्बर वक्तामा रहेका राष्ट्रिय सभा सदस्य गौतमले आफूलाई राष्ट्रिसभामा लगेकोमा राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन दलका नेतालाई धन्यवाद दिएका छन् ।

यसैबीच नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउनुअघि नै राजीनामा दिने बताएका छन् । उनले यस्तो भन्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गरेका हुन् ।

‘म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थें,’ गौतमले बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘त्यसैले मैल समर्थन गरिनँ । असंवैधानिक भनें । अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ ।’

साथै उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको पनि बताए । यस्तै प्रचण्ड–नेपाल नेतृत्वको समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई थाह नदिएको भन्दै दुवै पक्षसँग उनले असन्तुष्टि व्यक्त गरे । ‘त्यसैले अहिले म कुनै पनि पक्षमा छैनन,’ उनले भने ।

गौतमले आफूले आफ्नो जीवन कम्युनिष्ट आन्दोलनमा समर्पित गरेको बताउँदै बाँकी जीवन पनि कम्युनिष्ट आन्दोलनको एकतामा समर्पित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्