अमेरिकी संसदले गर्यो राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा
काठमाडौं, पुस २३ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएको घोषणा गरिएको छ । अमेरिकी संसदले राष्ट्रपतिमा बाइडेनको विजयी भएको बताउँदै औपचारिकता घोषणा गरेको हो ।
बिहिबार बिहान ट्रम्प समूहले गरेको हिंसात्मक आक्रमणका कारण इलेक्टोलर कलेज मत केही समयका लागि रोकिएको थियो ।
सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको हो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् ।
यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ । सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो ।
यसैबीच अमेरिकी संसद भवनमा बुधवार तनावपूर्ण अवस्था सिर्जना भएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित हजारौं प्रदर्शनकारीहरूले संसद भवनभित्र प्रवेश गरी उच्छृंखल गतिविधि गरेपछि अराजक स्थिति सिर्जना हुन पुगेको थियो ।
राजधानी वासिगंटन डिसीस्थित क्यापिटल हिलमा गत ३ नोभेम्वरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई लिएर ट्रम्प समर्थकहरूले उग्र प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्