हिमपातले हिल्सा नाका आवतजावत बन्द, बत्ती पनि अवरुद्ध

काठमाडौं, पुस २२ । हिमपातले हिल्सा नाका आवतजावत बन्द भएको छ । हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको हो ।

नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत ठप्प छ ।

आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सीमा सुरक्षामा खटिएका हिल्सा (बिओपी) का इन्चार्ज सुरज केसीले जानकारी दिए ।
हिमपातले मानिसले पैदल हिँड्न पनि सक्ने अवस्था पनि नरहेको बताएको छ ।

हिल्सामा (बिओपी) मा २० सशस्त्र प्रहरी र अन्य होटल कुरुवा बस्दै आएका छन् । हिल्सामा यसअघि चिसो बढेर तापक्रम माइनस नौ डिग्रीसम्म पुग्ने गरेकामा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको उनले बताए । हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको उनले जानकारी दिए ।

हिल्सामा रहँदै आएका सुरक्षाकर्मी र अन्य मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । टोलीलाई गस्ती गर्न पनि समस्या उत्पन्न भएको छ । सबैजना घरभित्र आगो तापेर बसिरहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्